झापा जिल्ला


Map of Jhapa District
झापा जिल्ला नेपालको अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. र जनसंख्या करिव ७ लाख रहेको छ। यो जिल्लाको पूर्व र दक्षिणमा भारत, उत्तरमा इलाम, पश्चिममा मोरङ र सुनसरी जिल्ला पर्दछन्। देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण जिल्ला हो।
पृथ्वीनारायण शाहको शासन काल पूर्व मोरङ र झापामा सेन वंशको राज्य थियो। सन् १७७३मा अभिमान सिंह बस्नेत र सरदार सारथी भण्डारीको नेतृत्वमा आएको फौजले आक्रमण गरी मोरङ र झापालाई कब्जा गरे। त्यहाँका राजा कर्णसेन भागेर धरान, विजयपुर पुगे। सन १७७४मा आक्रमण गरी विजयपुरलाई पनि कब्जामा लिए। अभिमान सिंह बस्नेतको नेतृत्वको फौजले पल्लो किराँतको उत्तरी सिमाना र पूर्व तमोर नदीसम्म अधिकार जमायो। सिंहलिला (फालेलुङ्ग) डाँडाको पानी ढलको पश्चिमतर्फ बसोबास गरेका र सिक्किम राज्यबाट सताइएका लिम्बू जातिहरू गोर्खालीसँग सम्झौता गरी नेपाल एकिकरणमा समाहित भएकाले पृथ्वीनारायण शाहको समयमा नेपालको सिमाना पूर्वी पहाडतर्फ सिंहलिला पहाडसम्म र मैदानतर्फ कन्काई नदी क्षेत्रसम्म फैलियो। सन् १७८३मा अर्थात् रणबहादुर शाहको शासनकालमा नेपालको सिमाना पश्चिमतर्फ कुमाउ, गढवाल र पूर्वतर्फ टिष्टा नदीसम्म पुगेको थियो। तर सन् १८१४मा अङ्ग्रेजले विराटनगर र रंगेलीबीच पर्ने 'धनपुर' भन्ने स्थान र झापा बजार हाल कुमरखोद गाविसमा आक्रमण गरी आफ्नो कब्जामा लियो। बाध्यताबस १८१६ मार्च ४मा सुगौलीको सन्धिमा हस्ताक्षर गर्न नेपाल वाध्य भयो र मेची नदी सदाको लागि पूर्वी अन्तर्राष्ट्रिय सिमाना हुन पुग्यो।
यस जिल्लामा मनसुनी हावा पानी ( अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ। गृष्मकालमा यहाँको तापक्रम ३२ डिग्री सेल्सियस देखि ३५ डिग्री सेल्सियससम्म पुग्दछ भने शीतकालमा १५ देखि १० डिग्री सेल्सियससम्म ओर्लिन्छ। कुनै वर्ष अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस सम्म पुगेको र न्यून्तम तापक्रम ८ डिग्री सेल्सियससम्म झरेको पाइन्छ। वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट यहाँ २७१.७५ मिलि मीटरसम्म वर्षा हुने गरेको पाइन्छ। यहाँको हावापानी ज्यादै उष्ण र शुष्क हुने हुँदा स्वास्थ्यका लागि उपयोगी नभएपनि कृषि कार्यका लागि उपयोगी मानिन्छ।
Share this article :

+ comments + 2 comments

Post a Comment

 
Contact : info@rameskhadka.com.np
Copyright © 2015. EVERYTHING ABOUT PURWANCHAL || Eastern Development Region Nepal - All Rights Reserved
Website Designed By Ramesh Khadka
=========================================================================================================================================